‘दासढुंगा’ र ‘बधशाला’पछि अर्को फिल्ममा सहकार्य गर्दै सौगात मल्ल र मनोज पण्डित

काठमाडौँ - फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लबीच तेस्रो प्रोजेक्टमा सहकार्य हुने भएको छ।

एमाले नेता मदन भण्डारीको रहस्यमय ‘मृत्यु’को कथावस्तुमा बनेको ‘दासढुंगा’ र सेनाको भैरवनाथ गणमा माओवादी बन्दीलाई गरिएको हत्याबारेको कथावस्तुमा बनेको फिल्म ‘बधशाला’पछि अब बन्ने तेस्रो प्रोजेक्टमा सहकार्य निश्चित भएको हो।

निर्देशक पण्डितले अभिनेता मल्ललाई आगामी फिल्मको मुख्य भूमिकामा लिइएको जानकारी दिएका छन्। बुधबार यी दुवैैबीच सहकार्यको सहमति जुटेको छ।

रोचक कुरा के छ भने सामाजिक र राजनीतिक इस्युमा फिल्म बनाएर चर्चित निर्देशक पण्डित यसपटक मूलधारको फिल्म निर्माणमा फर्किएका छन्। ‘मैले बनाउन लागेको यो फिल्म कुनै इस्युमा होइन। संसारमै बढी रुचाउने जनरामा बन्नेछ,’ उनले भने। ‘मैले सम्मान गर्ने र आफूलाई बहुचरित्रमा रुपान्तरण गर्न सक्ने क्षमता भएकाले सौगातलाई फिल्ममा लिएको हुँ,’ पण्डितले भने।

छायांकनको तयारीमा रहेका सौगातका २ वटा फिल्मपछि मनोजको यो फिल्मको छायांकन हुनेछ। निश्चल बस्नेत र सफल केसीले निर्देशन गर्ने २ फिल्ममा सौगात व्यस्त हुँदैछन्। यी २ फिल्मसँगै उनी पण्डितको फिल्ममा व्यस्त हुनेछन्।

निर्देशक पण्डितले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यतिबेलै उनले आफ्नो करिअरमा फिल्मको तेस्रो चरण सुरु भएको र नयाँ फिल्मको स्क्रिप्ट लेखन प्रारम्भ भएको जनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×