काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन। घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन्। अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ।
नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म ‘फास्ट एण्ड लुज’ रोकेको केही समयमा अर्को फिल्म ‘ब्राइट’ को सिक्वेल नबनाउने भएको छ। नेटफ्लिक्सले अन्य कारण देखाउँदै हाललाई सिक्वेल नबनाउने जनाएको छ। नेटफ्लिक्सले ओस्कारको घटनासँग फिल्म रोकिनु सम्बन्धित नभएको बताएको छ। यद्यपि ओस्कारको थप्पड प्रकरणले चर्को रूप लिँदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको खबरहरू आइरहेका छन्।
ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ। यद्यपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेको प्रकरण अहिले चर्चामा छ। क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेका थिए। त्यसपछि विल आफ्नो सिटबाट उठेर गएर स्टेजमा भएका क्रिसलाई जोडले थप्पड हानेका थिए।