काठमाडौँ - यूइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी डेनमार्कको एफसी कोपेनहेगनसँग बराबरीमा रोकिएको छ।
समूह‘जी’अन्तर्गतको खेलमा सिटी घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। १० खेलाडीमा समेटिएको सिटी पाएको केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा अंक बाँड्न बाध्य बन्यो।
पार्केन स्टिडियममा खेलको ११ औं मिनेटमा सिटीका रोड्रीले गरेको गोल पनि फाउल भएको कारण भिएआरको सहायताबाट रेफ्रीले त्यसलाई मान्यता दिएनन्। २५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा चुक्दा सिटीले अग्रता लिने शुनौलो अवसर गुमायो उनको प्रहार कोपनहेगनका गोलरक्षक कामिल ग्राबराले उत्कृष्ट बचाउ गरेका थिए।
३० औं मिनेटमा सर्जियो गोमेजले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो। यो नतिजासँगै ४ खेलमा १० अंकका साथ सिटी शीर्ष स्थानमा कायम रहँदा कोपेनहेगनसमान खेलबाट २ अंकका साथ अन्तिममा रहेको छ।
हल्याण्डबारे कुरा गर्दै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साउथह्याम्टनसँगको खेलपछि हल्याण्ड थकित भएको र रिकभर भइनसकेको बताएका छन्। 'साउथह्याम्पटन विरुद्धको खेलपछि उनी धेरै थकित भएका थिए र राम्रोसँग निको हुन सकेनन्,' हल्याण्डबारे उनले भने, 'हिजो अवस्था राम्रो थिएन, आज अलि राम्रो तर पूर्ण फिट छैन त्यसैले हामीले जोखिम नलिने निर्णय गर्यौं।'