काठमाडौँ - संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो। उनले युक्रेनमा जारी रहेको रुसको आक्रमणका विषयमा सो भ्रमणका क्रममा कुराकानी गर्ने भएका छन्।
उनी रुस र युक्रेनको पनि भ्रमण गर्न लागेका छन्। त्यस अगाडि उहाँ टर्की जान लागेको समाचारमा जनाइएको छ। राष्ट्रसंघीय महासचिव गुटर्रेसले सोमबार नै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने बताइएको छ।
टर्कीको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरी युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताएको छ। युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ। टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ।