काठमाडौँ । न्यायालय भनेको न्यायको मन्दिर हो । मानिसहरु न्यायालयमा आफू अन्यायमा पर्दा न्याय प्राप्तीको अभिलाषा बोकेर आएका हुन्छन् । तर त्यही न्यायको मन्दिरमा पीडितहरुको आवाज नसुनिनु र न्यायालय नै भाँडभैलोको अवस्थामा पुग्नु हो भने अन्यायमा परेका पीडित जनताहरु कहाँ गएर हार गुहार गर्ने ? प्रश्न जति जटील छ त्यसको जवाफ त्यो भन्दा बढी जटिल छ । जनताको न्यायप्रप्त गर्न हार गुहार गर्ने अन्तिम बिन्दु नै न्यायालय हुनाले पनि त्यो भन्दा माथि उनीहरुले हारगुहार गर्न पुग्ने स्थान नै रहँदैन । कुनै देवि देवताको मन्दिरमा गएर म अन्यायमा परेँ भन्दा देवि देवता प्रकट भएर तथास्तु भनेको भरमा न्याय पाउने यो कुनै सत्ययुग हैन ।
अब कुरा गरौँ नेपालको न्यायालयको अहिलेको अवस्था बारे । करिब तीन साता देखि न्यायपालिकामा निकै भाँडभैलो भइ रहेको छ । नेपाल बार एशोसिएसन सम्बद्ध केहि वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै धर्ना दिने र आन्दोलन गर्ने कार्य गरिरहेका छन् । केहि दिन अघि सम्म न्यायाधीशहरु समेत उनीसँगै आन्दोलन गर्दै इजलाश बहिस्कार गरिरहेका थिए । न्यायालयको कार्यसम्पादन करिब ठप्प नै थियो । देशका विभिन्न स्थानबाट न्यायप्राप्तिका लागि न्यायालयको ढोकामा ढक्ढकाउन आइपुगेका पीडित जनताहरु भोकभोकै सर्वोच्चमा आफ्ना मुद्दा कहिले सुनुवाइ हुन्छ भनेर पर्खिरहेका थिए । तर बारका वकिलहरुको आन्दोलनका कारण न्यायसम्पादन ठप्प भइदिनाले जनताहरु विवस भइ रित्तो हात फर्किनु पर्यो भने केहि पीडितहरुले वकिलहरुलाई इजलास बहिष्कार गर्ने अधिकार छैन भन्दै आन्दोलनको विरुद्ध आवाज उठाउन थाले ।
वकिलहरुले धर्ना त दिए तर जनता र राष्ट्रको रतिभर ख्याल गरेनन् । देशको गरिमा र न्यायालयप्रति जनताको विश्वासलाई भताभुङ्ग पार्दै उनीहरु आन्दोलनलाई बढाउँदै गए । उनीहरु बिनाकाम आन्दोलन गरेर न्यायकालागि देशका कुनाकाप्चा देखि आएका सर्वसाधारणहरुलाई सास्ती दिन मात्र लागि परे । न्याय खोज्न आएका पीडित पक्षले आन्दोलन हेरेर फर्किनु सिवाय अरु कुनै विकल्प बाँकी रहेन । जनतालाई दिएको दुःखलाई ध्यानमा राख्दै नागरिक समाज र देशका सर्वसाधारणहले वकिलहरुलाई साथ दिन चाहेनन् । बरु उनीहरुको विरुद्ध काउन्टर प्रोटेस्ट गर्नु उचित ठाने र गरे पनि । केहि साता देखि स्वतन्त्र कानुन व्यवसायी, केहि राजनीतिक पर्टी र सैयौँको संख्यामा पीडित जनता र आम नागरिकहरुले बारले गरेको आन्दोलन विरुद्ध काउन्टर प्रोटेस्ट समेत थालनी गरेका छन् । उनीहरु आन्दोलनरत वकिलहरुका विरुद्ध मोटरसाइकल र्याली निकाल्ने, आम सभा गर्ने, धर्ना दिने जस्ता कार्यहरु निरन्तर गर्दै आइ रहेका छन् ।
त्यसै गरी अहिले वकिलहरुको आन्दोलन अराजकता तर्फ अघि बढेको पनि प्रष्ट देखिन थालेको छ । केहि निश्चित व्यक्तिहरुको कठपुतली बन्दै केहि वकिलहरु उनीहरुको इशारामा चलिरहेका छन् । आन्दोलनलाई भड्किलो बनाउने, बारका वकिलबिच नै हात हालाहाल हुने, प्रहरीसँग झडप गर्ने, आफ्नो मनोमानी गर्न नपाएको झोंकमा गृहमन्त्रीलाई फोन गरि थर्काउने, प्रधानन्यायाधीश जबरालाई प्रवेशमा निषेध गर्ने कार्यमा अघि बढ्ने, उनलाई कुर्सी समेत छुन नदिने भन्दै धम्क्याउने, प्रधानन्यायाधीश सँगसँगै गृहमन्त्रीको समेत राजीनामा माग्ने जस्ता कार्यहरुले आन्दोलन कुन हद सम्म अराजक बनेको छ बुक्ष्न सकिन्छ । अब यतीले पनि नपुगेर उनीहरु निषेधित क्षेत्रमा समेत आन्दोलन गर्न पुग्ने भएका छन् । शान्तिपूर्ण आन्दोलनका नाममा झडप श्रृजना गर्न तम्सिने वकिलहरुको रणनीति देख्दै हाँस्यायस्पद लाग्दछ ।
न्यायधीशहरु इजलासमा बस्न तयार भएसँगै वकिलहरुको आन्दोलनमा सहभागीहरुको संख्या झनझन पातलिँदै गएको छ । आन्दोलन फितलो हुँदैजाँदा आफ्नो उद्देश्य पुरा हुने नदेखे पछि उनीहरु राजनीतिक दलहरुसँग हार गुहार गर्न थालेका छन् । त्यसमाथि न्यायाधीशहरु काममा फर्किए सँगै बारका वकिलहरुलाई पनि प्रधानन्यायाधीशसँग वार्ता गरी सम्झौता गर्न दवाब बढीसकेको छ । तर उनीहरुलाई चलाउने विशेषव्यक्तिहरु वार्ता गर्ने पक्षमा पनि देखिँदैनन् भने यसरी नै पातलिँदै जाँदा आन्दोलनको औचित्य पनि देखिरहेका छैनन् । अहिले न वार न पारको अवस्थामा छ वकिलहरुको नेपाल बार ।