काठमाडौँ - भारतको बैंग्लोर पुगेका अभिनेता राजेश हमाल गएराति १२ बजे मात्र काठमाडौंमा अवतरण गरे। आउन ढिलाइ भएपछि उनको भाइटीका पनि छुट्यो।
बैंग्लोरमा ३ दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा समय बिताएका थिए। जहाँ अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भयो। योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन कुराकानी भयो।
ठीक १ महिना पहिले हमाल भारतकै तमिलनाडुस्थित आश्रम पुगेका थिए। त्यहाँ उनले सद्गुरुसँग भेटेर अन्तर्वार्ता लिए। हमाल र सद्गुरुको उक्त अन्तर्वार्ताको भिडियोले राम्रै चर्चा पाएको थियो।
भीएफवाई टक्सका प्रमुख दशरथ सुनारका अनुसार अभिनेता हमालले अझै केही विश्वचर्चित सेलिब्रिटीसँग अन्तर्वार्ता लिनेछन्। जसको सूची र समयबारे निधो भइसकेको छैन। सूचीमा अर्का एक विश्वचर्चित योग तथा अध्यात्म गुरु पनि रहेका छन्।