काठमाडौँ - जसन रोय र कप्तान जोश बट्लरले तेस्रो विकेटका लागि अविजित १६३ रनको साझेदारी गरेपछि इङ्ल्यान्डले बुधबार राति तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको छ।
नेदरल्याण्ड्सविरुद्धको तीन खेलको एक दिवसीय शृंखला इंग्ल्याण्डले क्लिन स्विप गरेको हो। तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको शानदार जित निकाल्दै पाहुना टोली इंग्ल्याण्डले शृंखला ३-० ले जितेको हो। आम्सटेलभिनस्थित भीआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेदरल्यान्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएको थियो । २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३१ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको थियो।
इंग्ल्याण्डका ज्यासन रोयले अविजित १०१ रन जोडे। त्यस्तै कप्तान जोश बट्लर ८६ रनमा नटआउट हुँदा पिल साल्टले ४९ रन बनाए। नेदरल्याण्ड्सका पाउल भान मिकिरेनले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४ बल अगावै २४४ रनमा अलआउट भयो। उसका लागि कप्तान स्कट स्टुवार्डसले ६४, बास डी लिडेले ५६ तथा म्याक्स डोडले ५० रन बनाएका थिए।
इंग्ल्याण्डका डेविड वेलीले ४ विकेट लिए। इंग्ल्याण्डले पहिलो खेल २३२ रनले र दोस्रो खेल ६ विकेटले जितेको थियो। इंग्ल्याण्डका जसन रोय म्यान अफ द म्याच अनि जोश बट्लर म्यान अफ द सिरिज चुनिए।