काठमाडौँ - सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा रु २९ करोड ३८ लाख २० हजारको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ। नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ।
नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनका अनुसार, बाढीपहिरा, भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ। यसको निर्माणको जिम्मा ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई दिएको छ। होल्डिङ सेन्टर निर्माणका लागि ठेकेदार कम्पनीलाई गत पुस मसान्तसम्मको समय दिएको थियो।
अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् रु. १० करोड ९९ लाख ६० हजार बराबरको वित्तीय प्रगति देखिएको छ।