पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन्।
उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा र अजितले ३ मिनेट ५३.११ सेकेन्डमा दूरी पार गरेका थिए। तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा पार गरेकाथिए।
महिलातर्फ एपीएफका फूललमति रानाले स्वर्ण पदक जितेकी छिन्। उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरिन्। तेस्रो भएकी आर्मीकी रेखा लिम्बुले ५ मिनेट ३ सेकेन्डमा दूरी पार गरेकी थिइन्।