जितु र साम्राज्ञीको 'ह्यारीकी प्यारी' माघ २० बाट प्रदर्शन हुने

काठमाडौँ - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर उनी अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

शुक्रबार निर्माण टिमले फिल्मको ३ पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन्। सार्वजनिक पोस्टरमा अभिनेता जितु नेपाल र साम्राज्ञी प्रस्तुत छन्।फिल्मको एक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिबनले बाँधिएको छ।

अर्को पोस्टरमा जितुले साइकल चलाइरहेका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन्। तेस्रो पोस्टरमा उनीहरूलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। उक्त पोस्टरलाई विजय बस्यालले डिजाइन गरेका हुन्।

यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय रहेको छ।

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन्। बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×