दरबार हत्याकाण्डमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने

काठमाडौँ - दरबार हत्याकाण्ड र तत्कालीन युवराज दीपेन्द्र शाहमा आधारित फिल्म ‘दीपेन्द्र सरकार’को निर्माण अघि बढ्ने भएको छ। निर्माण कम्पनी आशुसेन फिल्म्सले पटकथा लेखन अन्तिम चरणमा पुगेको र आगामी वर्षको सुरुदेखि अडिसन र कार्यशाला सुरु हुने जनाएको छ। फिल्म निर्माण घोषणाको पाँच वर्षपछि निर्माता सन्तोष सेनले फिल्म निर्माण कार्य अघि बढेको बताएका हुन्।

२०५८ साल जेठ १९ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको थियो। उक्त घटना भएको आज २१ वर्ष पुगेको छेकोमा फिल्म निर्माता सेनले प्रि–प्रोडक्सन कार्य अघि बढेको जनाएका हुन्।

‘स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ र आउँदो वर्षको सुरुवातदेखि सेट डिजाइन, वर्कसप र अडिसन कार्य सुरु हुनेछ,’ सेनले भने, ‘अहिले हाम्रै टिमले तथ्य केलाउने र घटनासँग सम्बन्धित पात्रलाई भेटेर कुरा गर्ने कार्य गरिरहेका छन्।’

विवेककुमार शाहद्वारा लिखित पुस्तक ‘मैले देखेको दरबार’मा आधारित भएर फिल्म निर्माण गर्न लागिएको हो। आशुसेन फिल्म्सले उक्त फिल्मको प्रतिलिपि अधिकार पनि लिइसकेको छ।

निर्माता सेनका अनुसार यसअघि फिल्म निर्माण घोषणा भए पनि उक्त पुस्तकमा आधारित केही तथ्य र घटनासँग सम्बन्धित पात्रको बयानमा भिन्नता देखिएकाले निर्माण कार्य रोकिएको थियो। यतिबेला भने तथ्यलाई केलाउने र यथार्थ जुटाउने प्रयास भइरहेको छ।

सेनले भने, ‘ त्यतिबेला हामी सतही ज्ञानमा मात्र थियौं। तथ्य बुझ्दै जाँदा गहिरो गरी अघि बढ्नुपर्ने जरुरी देखियो। अब विश्वले हेर्ने र आत्मसात गर्ने ढंगबाट अघि बढ्छौं।’

प्रारम्भमा ५ करोड ५० लाखको बजेट बताइए पनि लागतमा दोब्बर वृद्धि हुने सेनले बताएका छन्। दीपेन्द्रको भूमिकामा देखिन लागेका अभिनेता प्रदीप खड्काले पात्रको स्वरुपमा आफूलाई बदल्न तौल बढाउने देखि आफूलाई अनुसन्धानमा होम्ने तयारी समेत गरेका छन्।

प्रदीपबाहेक अन्य कलाकार भने अडिसनबाटै लिइने सेनले बताएका छन्। फिल्म नेपाल, बेलायत र अमेरिकामा छायांकन गर्ने बताइएको छ। तत्कालीन राजा दीपेन्द्र छोटो समयका लागि राजा घोषित भएका थिए। अर्धचेत अवस्थामै उनलाई राजा घोषित गरिएको थियो। दरबार हत्याकाण्डको तेस्रो दिनमा उनलाई मृत घोषणा गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×