डम्फु र झ्यालीबाट फागु स्वागतः जोगिरा जोगाउन माग

        ‘जोगिरा सररर, जोगिरा सररर’
    ‘मिथिलामे राम खेलैया होली, मिथिलामे
     मिथिलामे हो, मिथिलामे हो, मिथिलामे’
    ‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली, मिथिलामे’
    ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली
     हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे’
    ‘जोगिरा सररर, जोगिरा सररर’ 

    ‘रङ्ग बरसे भिगे चुनरबाली रङ्ग बरसे, हो रङ्गबरसे भिगे चुनरवाली रङ्गबरसे ।’

जलेश्वर नगरपालिका –८ बजराहीका ५० वर्षीय रामदेव महरा दुईतीन दिनदेखि साँझ पर्नेबित्तिकै उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर चोकमा पुग्ने गर्छन्। पछियारी टोलबाट ५५ वर्षीय अरुण पाण्डे, पूर्वारीटोलबाट ६० वर्षीय रामबाबु चौधरी र दक्षिणबारी टोलबाट ४५ वर्षीय पवित्तर साहसहित अन्य व्यक्ति आआफ्ना घर –टोलबाट आएर चोकमा जम्मा हुँदै आएका छन्।

तराई–मधेशमा अहिले होली पर्व आउन नौ दिन मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु र  झ्याली बज्न थालेको छ भने चारैतिर जोगिराका धुन सुन्न लागिएको छ। चारैदिशाबाट टोलका चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि यसरीजम्मा हुँदैनन्। बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न तथा पुस्तौँ चलिआइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिक रूपमा मानिसहरू साँझतिर जम्मा हुने गरेका छन्।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने फागुका गीत सुनिन थाल्छन्। होलैया (जोगिरा गायक) ले एकै स्वरमा लय हालेर गाएको जोगिरा सुन्दा बजराहीका टोल टोलका आआफ्ना घर– आँगनमा बसिरहेका जोकोही पनि प्रसन्न हुन्छन्। होलैयाले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली लगायत बाजा लिएर विभिन्न धुन र सङ्गीत सिर्जना गर्दै शुरु गरेको जोगिरा राति ११-१२ बजेसम्म चलिरहन्छ।

विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो, ठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भिड लाग्छ। जोगिराका क्रममा हुने नाच र गानमा समेत धेरै जना सहभागी हुने गरेकोे होलैया जानकी ठाकुरले बताए।बजराहीको निकै चर्चित जोगिराटोलीमा हिन्दू र मुसलमान दुवै समुदायको समावेशिता रहन्छ। हिन्दूका पर्वमा मुसलमान सहभागी नहुने र मुसलमानका पर्वमा हिन्दूले चासो नदिने सामान्य चलन रहे पनि महोत्तरीको सदरमुकाम जलेश्वरको बजराहीमा धार्मिक, सांस्कृतिक–सामाजिक एकलकाँटेपन हटाइएको छ। यहाँ वर्षौंदेखि मुसलमानहरू हिन्दूका पर्वमा र हिन्दू मुसलमानका चाडमा सँगसँगै हुन्छन्।

बजराहीमा जोगिराको रङ चढेर धुम मचाइरहेका बेला जलेश्वर–७ अनकारमा पनि बर्सेनि जोगिराले धुम मचाउने गर्छ जसमा सर्वसाधारणसहित जनप्रतिनिधि पनि उत्साहजनक रुपमा सहभागिता जनाउने गर्छन्। वडा नं ७ का वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया छन्। अहिले वडामा पनि फागुनका अवसरमा जोगिरा गाउनकै लागि युवाहरू देश परदेशबाट आआफ्ना टोल फर्किएका छन्।  

जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको स्थानीयवासीहरूको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×