जाजरकोट। नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए। यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश छन्।
सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन। व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन्। बुढा र पुन उदाहरणका पात्र हुन्। अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ। व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन्। गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए।
मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उनको भनाइ थियोे। विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो। गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ। उत्पादन घट्दा मूल्य वृद्धि भएको हो। मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन्।