लहान - आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने भएका छन्। ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन्। कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवाको टुङ्गो लगाइसकेको र आज उम्मेदवारी दर्ता गराउने कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए।
एमालेले धरै तहको उम्मेदवार टुङ्गो लगाए पनि आइतबार उम्मेदवारी दर्ता गराएनन्। सत्ता साझेदार दलको उम्मेदवारी पछि मात्र आफूहरुले उम्मेदवारी दर्ता गराउने योजनामा रहेको एमालेका नेताहरुले बताएका छन्।
माओवादी केन्द्रले पनि अझै पालिका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाउन सकेका छैन।
अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्गो लागिसकेकाले आज उम्मेदवारी दिने माओवादीका नेता विश्वनाथ साहले जानकारी दिए।
जसपाको अवस्था पनि उस्तै छ। जसपाले पनि अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। यद्यपि जसपाका नेताहरुले अधिकांश स्थानीय तहको उम्मेवार टुङ्गो लगाइसकेको दाबी गरेका छन्।
“करिब करिब सबै स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ”, जसपा प्रदेशका मुख्य सचिव यादवले भने, “धेरैले टिकट लिएर उम्मेदवारी दिन गइसक्नुभयो, बाँकी रहेका प्नि टिकट वितरण भइरहेको छ।” आज उम्मेदवारीको तयारीमा जुटेका छौँ, उनको भनाइ थियो।
यसैबीच उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार सिरहा नगरपालिकामा चार जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको छ। ती मध्ये दुई सिके राउत नेतृत्वको जनमत पार्टीका र दुई स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
धनगढीमाई नगरपालिकामा नगरप्रमुखका लागि चार, उपप्रमुखका लागि एक र वडाअध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। लहान नगरप्रमुख पदका लागि दुई र एक जनाले वडा अध्यक्ष पदमा उम्मेदवार दिएका छन्।
सिरहाको बरियारपट्टीमा नगरप्रमुखमा एक, वडा अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सुखीपुर नगरपालिकामा एक जनाले नगरप्रमुख पदमा र तीन जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नगप्रमुखका लागि दुई, उपप्रमुखमा एक, वडाध्यक्षका पदमा छ जनाले उम्मेदवारी दर्ता गराएका छन्