म्याग्दीका अधिकांश गाउँमा खेतीयोग्य जमिन मासेर घर निर्माण

काठमाडौँ -  कुनै समय अन्नबालीले हरिया हुने म्याग्दीका गाउँ यतिबेला बाँझो देखिन थालेका छन्। खेती गर्ने जमिन घर बनाउन मास्ने क्रम बढेसँगै म्याग्दीका धेरै गाउँबाट हरियाली हराउँदै गएको हो।

म्याग्दीका बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो। अन्नबालीले यहाँका फाँटहरू निकै हरिया हुन्थे। यहाँको उत्पादनले स्थानीयवासीलाई १२ महिनासम्म खान पुग्थ्यो। तर जब सडक बनेर गाडी कुद्न थाले यहाँको अवस्था फेरिएको छ। अन्न फल्ने हरिया फाँट अब कङ्क्रिटका घरले भरिन थालेका छन्।

बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी नगरपालिका– ४ सिङ्गा, बेनी नगरपालिका –१ रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौर लगायतका सडकको पहुँच पुगेका ठाउँको अवस्था पनि यस्तै छ। जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको सहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहँुचमा रहेको गाउँ भएकाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो। धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ। एक त खेतीयोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतीपाती गरिँदैन।

बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले भेन, “बाली झुल्नुपर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नबालीको उत्पादनमा कमी आएको छ।आयातीत खाद्यन्नमा निर्भर रहनुपरेको छ।” खेती गरेर उत्पादित कृषिजन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयवासीको भनाइ छ। खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन। 

कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक पुगेपछि जिल्लाको कृषियोग्य जमिन मासिँदै गएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×