काठमाडौँ - राजधानीको बौद्धबाट प्रहरीले अनलाईनमार्फत जुवा खेलाएको आरोपमा ८ जना महिला सहित ७४ जनालाई पक्राउ गरेको छ।
बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेष्टुरेन्टमा जम्मा भइ अनलाईन बिंगो खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। आइतबार साँझ उक्त रेष्टुरेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार दोलखा घर भइ हाल बानेश्वर बस्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा अनलाईन बिंगो खेलेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनीहरुबाट मोबाइल, बिंगो खेल्न प्रयोग हुने कुपन र नगद बरामद गरिएको छ। ६६ जना पुरुष र ८ जना महिला गरि जम्मा ७४ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। उनीहरुबाट ६ लाख १७ हजार २५० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ।