भारत। बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्ड राज्यको ब्राण्ड एम्बेसडर भएका छन्। आज सोमबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उनलाई ब्राण्ड एम्बेस्डर बनाएका हुन्।
मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्, ‘आज प्रख्यात अभिनेता, युवाहरूका प्रेरणास्रोत अनि मेरा मित्र श्री अक्षयकुमारजीलाई मुख्यमन्त्री आवासमा स्वागत एवम् अभिनन्दन गरिएको छ। अक्षय कुमारले राज्यका युवाहरूलाई प्रेरित गर्नका लागि सरकारद्वारा उठाइएका कदमको सराहना गरे र हर सम्भव सहयोग गर्न आश्वासन दिए।’
समाचार एजेन्सी एनएनआईका अनुसार पुष्कर सिंह धामीले भने, ‘हामीले अक्षयकुमारलाई एक प्रस्ताव गरेका थियौँ, उनले यसलाई स्वीकार गरेका छन् । उनी उत्तराखण्डका ब्राण्ड एम्बेस्डरको रूपमा पनि काम गर्नेछन् ।’ हाल अक्षय उत्तराखण्डको मसुरीमा चलचित्रको छायांकन गरिरहेका छन्।