काठमाडौँ - शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन्। मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन्। ‘स्पाइडरम्यान : नो वे होम’को पुनःप्रदर्शन रोकिएको छ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनीधि तिवारीको कथामा आधारित छ। यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ। बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्कन्छ भन्ने सन्देश यस फिल्ममा रहेको छ।
मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भैसकेको छ। महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो।
सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई लभस्टोरी रुचाउने दर्शकले मन पार्न सक्छन्।
प्रदीप खड्का स्टारर फिल्म प्रकाश आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ। वर्ड अफ माउथ बलियो भएकाले फिल्मले दोस्रो सातापनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ।