बक्स अफिसमा ‘हिजोआजका कुरा’: कमजोर ओपनिङ, शोमा भारी कटौती

काठमाडाैँ - शुक्रवारदेखि प्रदर्शनमा आएको सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’ले बक्स अफिसमा निराशाजनक ओपनिङ गरेको छ। उल्लेख्य शोजसहित प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति न्यून देखिएको हो।

चलचित्रले शुक्रवार र शनिवार निराशाजनक व्यापार गरेको छ। यद्यपि, निर्माण टिमले चलचित्रको ओपनिङ कलेक्सन सार्वजनिक गरिसकेको छैन। हल सञ्चालकहरू शुक्रवार र शनिवार पनि चलचित्र हेर्न दर्शकको उपस्थिति न्यून रहेको बताउँछन्। आइतवारदेखि दर्शकको संख्या अझ घट्दो अवस्थामा रहेको छ। उल्लेखनीय दर्शक नपाएसँगै मल्टिप्लेक्स हलहरूले आइतवार चलचित्रको शो संख्यामा भारी कटौती गरेका छन्।

नयाँ रिलिज ‘हिजो आजका कुरा’भन्दा अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’मा धेरै दर्शकहरू रहेको हल सञ्चालकहरूको भनाइ छ। राजधानीमा रहेको क्युज सिनेमाजका प्रबन्ध निर्देशक सुमित मैनालीले भने, ‘हामीकहाँ हिजो आजका कुरा खासै चलेन।’ कीर्तिपुरमा रहेको ‘कीर्तिपुर सिनेप्लेक्स’का प्रबन्ध निर्देशक नरेन्द्र महर्जन ‘हिजो आजका कुरा’ हेर्न दर्शकको उपस्थिति न्यून रहेको बताएकाछन्।

‘हामी हरेक चलचित्रले राम्रो गरोस् भन्छौँ। तर, दर्शकहरु नआएपछि के गर्नु ?’, उनले भने। कुनै समयको चर्चित टेलिसिरियलको नाममा निर्माण भएको मल्टिस्टारर चलचित्रले सुखद ओपनिङ गर्ने अपेक्षा थियो। चलचित्रमा समावेश गीत समेत निकै हिट भएको थियो।

यद्यपि, गीत हिट हुनुका साथ मल्टिस्टारर कलाकार हुनुले चलचित्रलाई भने कुनै फाइदा पुर्‍याएन्। साकार पन्तको निर्देशनमा ‘हिजो आजका कुरा’ निर्माण भएको हो। चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, दिव्यदेव पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, साकार पन्तलगायतको प्रमुख भूमिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×