काठमाडौं - यूईएफए युरोपा लिगको सेमिफाइनलमा जर्मन बुन्डेसलिगाका टिमले विजयी नतिजा निकालेका छन्। लाइपजीगले स्कटल्यान्डका रेन्जर्सलाई १–० ले पराजित गर्दा फ्रांकफर्टले इङ्लिस क्लब वेष्ट ह्यामलाई २–१ ले हराएको छ।फ्रांकफर्टले घरेलु मैदानमा हुने दोस्रो लेगमा वेष्टह्यामलाई कम्तिमा बराबरीमा रोके झण्डै ४२ वर्षपछि युरोपा लिगको फाइनलमा स्थान पक्का गर्नेछ। जर्मन क्लब फ्रांकफर्टले यसअघि बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
फ्रांकफर्टले पहिलो मिनेटमै अन्सगर नाउफको गोलबाट अग्रता लिएको थियो। २१औं मिनेटमा घरेलु टोली वेष्ट ह्यामका मिचाइल एन्टोनियोले बराबरी गोल फर्काए। ५४औं मिनेटमा डाइची कामादाले अर्को गोल थपेपछि फ्रांकफर्ट विजयी भएको हो। फ्रांकफर्टले १९८० मा यूईएफए कपको उपाधि जितेको थियो। वेष्ट ह्यामले भने १९७६ मा यूईएफए कप विनर्स कपको उपाधि जितेको थियो।
अर्को सेमिफाइनल लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गर्यो । लाइपजिगको जितमा एन्जेलिनोले ८५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
अब दोस्रो लेगमा लाइपजिग र फ्रांकफर्टले कम्तिमा बराबरी खेले युरोपा लिगको फाइनलमा दुबै टिम जर्मनीको हुनेछन्।