काठमाडौँ - विराट कोहलीले अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१९ को नोभेम्बरमा शतक प्रहार गरेका थिए। बङ्गलादेशविरुद्धको टेस्ट क्रिकेटमा उनले त्यसबेला १३६ रन बनाएका थिए। त्यसयता १ हजार १ दिन बित्यो, तर विराटको शतक आएन।
उत्कृष्ट ब्याट्सम्यान, थुप्रै पटक आईसीसी क्रिकेटर अफ द यरबाट सम्मानित कोहलीको उत्कृष्ट फर्म र ब्याटिङ स्टाइलका कारण उनलाई किङ कोहली समेत भनिन्थ्यो। विराटले केही दिनअघि मात्र पनि भारतीय टोलीमा १४ वर्ष पूरा गरिसकेका छन्।
हजार दिनदेखि शतक प्रहार गर्न नसके पनि उनी हालसम्म पनि सचिन तेन्दुलकर र रिकी पोन्टिङपछि सर्वाधिक शतक प्रहार गर्नेमा तेस्रो स्थानमा रहेका छन्। विराटको नाममा ७० शतक रहेको छ।
एक समय विराटले सचिनको १ सय शतकको कीर्तिमान पनि तोड्छन् भन्ने आकलन थियो। यो त अब निकै टाढाको सपना भइसकेको छ। र योबीचमा विराटको ब्याटबाट शतक मात्र नआएको होइन, उनको कप्तानको पद खोसियो। रेस्ट भन्दै कतिपय खेलमा ड्रप गरियो।
तर, भारतीय क्रिकेट बोर्ड र क्रिकेट टिम अझै पनि विराटमाथि भरोसा गर्न छोडेको छैन। लेग स्पिनर युजवेन्द्र चहलले हालै मात्र शतक नबनाए पनि कोहलीको योगदान टिममा निकै अहम भएको बताएका छन्।
उनले भने, 'समस्या के हो भने हामी केवल उनको शतकको बारेमा मात्र सोच्छौँ। उनले ६०-७० बनाएको योगदानबारे सोच्दैनौँ।' चहलले के पनि खुलासा गरे भने यदि विराट १५-२० रन मात्र बनाएर क्रिजमा छन् भने पनि बलरहरू बलिङ गर्न नपरोस् जस्तो गर्छन्। उनले विराटको एभरेज हेर्न समेत बताएका छन्।
हाल भारत जिम्बावेविरुद्ध एकदिवसीय श्रृङ्खला खेल्दैछ। यस श्रृङ्खलामा सिनियर खेलाडीलाई रेस्ट दिइएको छ। विराटका लागि आफ्नो औचित्य पुष्टि गर्ने अन्तिम मौका अब एसिया कपमा हुनेछ। टी २०फर्म्याटमा हुने प्रतियोगिताको दोस्रो खेलमा भारत र पाकिस्तान भिड्दैछन्।