काठमाडौँ - इटालियन सिरी ‘ए’को क्लब नेपोलीले १ शुन्यले पछि परेको स्थिति उल्टाउँदै मंगलबार राति च्याम्पियन्स लिगमा आयाक्समाथि ६-१ को फराकिलो विजय हसिल गरेको छ।
नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो। पाहुना टोली नेपाेलीका जियाकोमो रास्पाडोरीले १८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। ३३औँ मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नेपोलीले अग्रता लिन सफल भयो।
४५औँ मिनेटमा पिएट्र जेलिनस्कीले नेपोलीको अग्रता बढाएका थिए। ४७औँ मिनेटमा रास्पाडोरीले गरेको गोलबाट नेपोलीले ४-१ अग्रता लियो। ६३औँ मिनेटमा खिचा कारात्सखेलियाले पाँचौँ गोल थपेका थिए। खेल सकिन ९ मिनेट बाँकी हुँदा जियोभानी सिमोनीले अर्को गोल गरेपछि नेपोलीले सहज जित दर्ता गरेको हो।
जितसँगै नेपोली च्याम्पियन्स लिगमा समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। नेपोलीले ३ खेलबाट ९ अंक जोडेको थियो। पराजित आयाक्स ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। जुन दोस्रो स्थानको लिभरपुलभन्दा ३ अंकले पछाडि हो।