काठमाडौँ - ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन्। ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्नेछ।
यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो। फरवार्ड नेयमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए। ब्राजिलियन टिमका डाक्टर रोड्रिगो ल्यासमरले शुक्रबारसम्म नेयमारको चोट निको नहुने र उनले क्यामरुनसँगको खेल पनि खेल्न नसक्ने बताएका छन्।
चोटकै कारण नेयमारले स्वीट्जरल्याण्डसँगको खेल होटलमै बसेर हेरेका थिए। नेयमारलाई सोमबार ज्वरो पनि आएको र अहिले भने ज्वरो निको भइसकेको जानकारी दिएका छन्। नेयमारसँगै ब्राजिलका डिफेन्डर डेनिलो र एलेक्स सेड्रोले पनि क्यामरुनसँगको खेल गुमाउने भएका छन्। डेनिलोलाई पनि एङ्कलमा चोट लागेको छ।
अर्का डिफेन्डर एलेक्स सेड्रो मांशपेशी बाउँडिए पछि सोमबारको खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए। सोमबार ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। क्यारुनसँग बराबरीमात्रै खेले पनि ब्राजिल समूह विजेता बन्नेछ।