कांग्रेस महाधिवेशनमा देउवा र पौडेललाई आफ्नैबाट चुनौती, सिटौला ‘किङमेकर’

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रवारदेखि राजधानीमा शुरू हुँदैछ ।

कांग्रेसका १३ पदाधिकारी र १२१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १३४ जना चुन्नका लागि महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको रेसमा संस्थापन पक्षबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर पक्षबाट अब पौडेल, पूर्व महामन्त्री सिंह र केन्द्रीय सदस्य समेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन पक्षबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आकलन छ ।

संस्थापनइतर पक्षमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् ।

इतर पक्षमा सहमतिको प्रयासमा जुट्दै आएका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने मंगलवारदेखिको प्रयास सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टीभित्रको सुधारवादी आन्दोलनमा साथीहरूबाट सहयोग हुनेभन्दा असहयोग हुने अवस्था बन्दै आयो, साझा उम्मेदवार बनाउन ३ दिनदेखिको प्रयास सफल हुन सकेको छैन । देशभरका नेताकार्यकर्ताको भावनालाई नबुझ्ने हो भने पार्टीलाई नै घात हुन्छ,’ नेता केसीले भने ।

नेता सिंहले भने आफू उम्मेदवारी दर्ताको तयारीमा रहेको भन्दै नेताहरूलाई अब सहमतिको सम्भावना सकिएको जवाफ दिइसकेका छन् ।

‘उहाँले सहमति भए मेरै नाममा गरौं, नभए हुन्न भन्नुभयो, आफ्नो नाममा सहमति नभए अरूलाई मान्दिनँ भन्ने उहाँको प्रस्ट भनाइ छ,’ सिंहसँगको छलफलबारे जानकारी दिँदै एक नेताले भने ।

नेता शेखर कोइरालाले भने सहमति बन्ने अवस्था आए आफू ब्याक हुन तयार रहेको संकेत गर्दै आइरहेका छन् तर सिंहलाई भने नछाड्ने उनको आशय छ ।

१३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ ।

कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामले समेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जीत हात पार्ने देखिएको छ ।

प्रदेश अधिवेशनका क्रममा १ नम्बर प्रदेशमा सिटौला पक्ष देउवा पक्षसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बागमती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।

यी सबै परिणामपछि संस्थापन पक्षभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ ।

‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक रह्यो, अहिले पनि उहाँलाई मिलाएर अघि बढ्दा संस्थापन पक्ष पहिलो चरणको निर्वाचनमा नै जीतनजिक छ, यस कारण पनि उहाँलाई मिलाएर अघि बढ्न हामीले सभापतिजीलाई सुझाएका छौं,’ देउवा समूहका एक नेताले भने ।

बिहीवार बिहानै नेता सिटौलासँग छलफलका लागि संस्थापनइतर पक्षका नेता रमेश लेखक उनको निवास पुगेका थिए । बुधवार मात्रै वरिष्ठ नेता पौडेल समेत सिटौलाको निवासमा सहयोग माग्दै पुगेका थिए ।

कांग्रेस विधानअनुसार पहिलो चरणमा नै सभापति बन्न निर्वाचनमार्फत ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

कांग्रेसको १३औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा देउवा, पौडेल र सिटौला भिडेका थिए । दोस्रो चरणमा देउवालाई सिटौलाको समर्थन थियो । त्यसबखत पहिलो चरणमा देउवाले १ हजार ५६४, पौडेलले १ हजार १६० र सिटौलाले ३२४ मत ल्याएका थिए ।

दोस्रो चरणको प्रतिस्पर्धामा सिटौलाको सहयोगबाट देउवाले १ हजार ८२२ मत ल्याएर सभापतिमा निर्वाचित बन्दा पौडेलले १ हजार २९६ मत ल्याएका थिए । राजधानीमा दैनिकमा समाचार छापिएकाे छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×