बडीमालिकामा नगरस्तरीय पर्यटन गुरुयोजना

काठमाडौँ - बाजुराको बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ।

नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत  विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ।

उनले नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा निर्माण गरिएको सो गुरुयोजनामा दीर्घकालीन पर्यटन विकास योजना समेटिएको जानकारी दिए। जिल्लाका नौवटा स्थानीय तहमध्ये पर्यटन गुरुयोजना बनाउने बडीमालिका पहिलो पालिका हो। पालिकाभित्रका नौवटै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र, स्थानीय रैथानले बाली उत्पादनको पकेट क्षेत्रसहितको विवरण उल्लेख हुने गरी योजना निर्माण गरिएको नगर उपप्रमुख कविता विष्टले बताए।

उनले नगरपालिकाको लागि बनाइएको गुरुयोजना प्रारम्भिक विवरणसहित २०० पृष्ठ लामो गुरुयोजनाको सरोकारवाला बीचको छलफल तथा सुझाव सङ्कलन गरिएको बताए। नगरभित्रका पर्यटन, धार्मिक र सांस्कृतिक तथा रैथाने बालीको अध्ययन गरी तयार पारिएको गुरुयोजनालाई अन्तिम रूप दिन पर्यटन क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरुसँग  सुझाव सङ्कलन लिने कार्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार सिङ्गो नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्याङ्कसहितको विवरण गुरुयोजनामा समेटिएको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले नगरको आर्थिक विकास र समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गरिएको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×