काठमाडौँ - गोल्डेनगेटले यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८-४८ ले पराजित गरेको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आईएसए नेपाललाई ६८-४० तथा रोयलले मेरिलियोनलाई ६१-४८ ले हराएको थियो।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य-सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। ७१ औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। फाइनल मंगलबार हुनेछ।