हिमपातले कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

काठमाडौँ - माघको तेस्रो साता परेको हिमपातका कारण बाली सप्रिने र खेतीपातीमा चिस्यान कायम रहने भएकाले म्याग्दी र मुस्ताङका कृषक उत्साहित भएका छन्। 

तेस्रोपटक भएको भारी हिमपातले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुशी भएका हुन्। मुस्ताङका  स्याउ किसान शेभन गुरुङले हिमपातले यस क्षेत्रको हिउँदे बालीलाई निकै फाइदा पुर्याउने बताए। उनका अनुसार समयमै परेको हिमपातले स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। बिरुवा काँटछाँट र हिउँ सङ्कलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ। यसले सिँचाइ पहुँच नभएको ठाउँमा राहत पुग्ने उनले जानकारी दिए।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेषगरी, अहिलेको हिउँले स्याउ बगैँचालाई फाइदा पुग्ने भएकाले कृषिमा आश्रित म्याग्दी र मुस्ताङका झण्डै ४० हजार घरधुरी लाभान्वित हुने भएका छन्। यता हिमाली जिल्ला म्याग्दीका किसान पनि चिसोका कारण केही समय समस्या भए पनि हिउँदे वर्षा र हिमपातका कारण गहुँ, जौँ, उवा, फापर, आलुलगायत सागपात र फलफूलको उत्पादन राम्रो हुने भएकाले खुशी भएका छन्।

यस वर्ष पटकपटक हिमपात र वर्षा भएकाले किसान भने कष्टकर जनजीवनबीच पनि उत्साही छन्। “आकाशे वर्षाले गहुँ, जौँ, उवा, फापर, आलुलगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले जनजीवन कष्टकर भए पनि हामी खुशी छौँ। गहुँ, जौँ, उवाजस्ता खेतीबाली र स्याउसमेतका हिमाली फलफूल समयमा हिउँ पर्दा फस्टाउँछन्।” कृषक रणबहादुर विकले भने।

वर्षा र हिमपातले जिल्लाका किसान औधी खुशी  भएका छन्। यहाँका उच्च पहाडी क्षेत्रमा गुर्जामा पाँचौँपटक र अन्य क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो। यसअघि, गत पुस १३  गते पनि यहाँ हिमपात भएको थियो। वर्षासँगै हिमपात भएपछि  हिउँदेबाली बाली सप्रिने बताइन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×