काठमाडौं - नेकपा (एमाले) दैलेख जिल्ला कमिटि सदस्य बखत बहादुर वि.सी.ले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको बताएका छन् । बिहीबार उनले प्रेस विज्ञप्ति जारि गर्दै उक्त कुरा बताएका हुन् ।
विसीले भने एमाले पार्टी जनताप्रति उत्तरदायी नभएको, एकाधिकार दलाल संसदीय व्यवस्थाको संरक्षक भएको र कम्युनिस्ट नीति सिद्धान्तबाट च्यूत भएको बताएका छन् । साथै नेकपा एमाले दैलेखमा रहनुभएका बुद्धिजीवी, वामपन्थी, देशभक्त लगायत सम्पूर्ण शुभचिन्तकहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा संगठित हुन पनि उनले अनुरोध गरेका छन् ।
बिहीबारै जिल्ला नेता बखत बहादुर वि.सी.लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरणले पार्टी कार्यालय कुपन्डोलमा प्रवेश गराएका हुन् । प्रवेश कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय तथा ३ नं. प्रदेश संयोजक चन्द्रहरी सुवेदी ‘अटल’, ३ नं. प्रदेश ‘ख’का इन्चार्ज लालबहादुर बि.सी. ‘सार्दुल’, केन्द्रीय सदस्य जिवित, ३ नं. प्रदेश कार्यालय साहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’, ३ नं. प्रदेश ‘ख’का कार्यालय सचिव सुन्दर बि.सि. ‘उज्ज्वल’ र पत्रकार रहेका थिए ।
प्रेस विज्ञप्ति भनिएको छ, ‘म नेकपा एमाले दैलेख जिल्ला कमिटि सदस्यको जिम्मेवारी लिई निरन्तर काम गर्दै आएको कुरा सबैमा सर्ववित्ततै छ । यो पार्टी जनताप्रति उत्तरदायी नभएको, एकाधिकार दलाल संसदीय व्यवस्थाको संरक्षक भएको र कम्युनिस्ट नीति सिद्धान्तबाट च्यूत भएको करा आम जनसमुदायलाई घाम जस्तै छर्लङग छ । दलाल संसदीय व्यवस्थाबाट जनताको मुक्ति संम्भव नहुने भएकोले मंसिर १४ गतेका दिन देखि नेकपा एमाले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको सबैमा जानकारी गराउन चाहन्छु । साथै नेकपा एमाले दैलेखमा रहनुभएका बुद्धिजीवी, वामपन्थी, देशभक्त लगायत सम्पूर्ण शुभचिन्तकहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा संगठित हुन हार्दिक अनुरोध गर्दछ ।’