विदेशका मल्टिप्लेक्समा ‘प्रकाश’ लाई उच्च शो

काठमाडौँ - विदेशका मल्टीप्लेक्सहरुले बहु प्रतिक्षित नेपाली फिल्म ‘प्रकाश’ को अग्रिम बुकिङ खुल्ला गरेका छन्। भदौ १० गते शुक्रवारदेखि स्वदेश तथा विदेशमा एकै पटक प्रदर्शनमा आउन लागेको यो फिल्मको युएई, ओमान, बहराइन, कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो।

नोभा सिनेमाले यूएईमा मात्र यो फिल्मका लागि दैनिक १९ शोसम्म उपलब्ध गराएको छ। नोभा नेटवर्क अन्तर्गतका विभिन्न ६ वटा हलहरुमा शुक्रबारदेखि बुधबारसम्मको लागि फिल्मको शो सार्वजनिक भएको हो।

ओमन र कतारमा पनि नोभा सिनेमाले यो फिल्मका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराएको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक २ शो उपलब्ध गराएको छ। विभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली फिल्मले विदेशी फिल्मकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन्।

युएइको स्टार सिनेमाले ‘प्रकाश’ लाई २ शो दिएको छ भने आबुदाबीको ईको नेशनल सिनेमाले पनि २ शो दिएको छ। यता भक्स सिनेमाले शुक्रबारदेखि बुधबार सम्म प्रकाशका लागि शो दिएको छ। भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक २-२ शो उपलब्ध गराएको छ।

ओस्कर सिनेमाले पनि शुक्रबारदेखि बुधबारसम्मका लागि फिल्मको शो सार्वजनिक गरेको छ। आबुदाबीमा रहेको ओसकर सिनेमाले फिल्मका लागि दैनिक २ शो उपलब्ध गराएको हो।

निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि ‘प्रकाश’ रेलुगलर शो मै प्रदर्शन हुनेछ। त्यहाँका वितरकले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार मंगलबार साँझसम्म फिल्मको शो सार्वजनिक हुनेछ। अमेरिकामा पनि आधा दर्जन सिनेमा हलमा यो फिल्म प्रदर्शन हुनेछ।

अष्ट्रेलियामा विभिन्न शोहरु शोल्डआउट भइसकेका छन्। केही समयअघि नै अष्ट्रेलियामा फिल्मको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन्। सम्भवतः विदेशी मल्टिप्लेक्सहरुमा यति धेरै शो पाएर एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म ‘प्रकाश’ नै हो। फिल्मको विषयवस्तु र लुक्सका कारण विदेशमा ‘प्रकाश’ को राम्रो डिमाण्ड रहेको छ।

दिनेश राउत निर्देशित यो फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ। मुख्य पात्रका माध्यमबाट वर्गिय विभेदको कुरा पनि उठाइएको छ। यो फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×