कैलाली - नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ।
नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन्। सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन्। निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन्। यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन्। भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।
बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशङ्कर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन्। उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रवीन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन्।