काठमाडौँ - युभेन्ट्सलाई २-१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले १ गोल सहित १ असिस्ट प्रदान गरे। यसैगरि नुनो मेन्डिसले १ गोल थपेका थिए। एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो। युभेन्ट्सका लागि लिओनार्दो बोनुचीले गोल गरेपनि पर्याप्त रहेन।
समूह ‘एच’ कै अर्को खेलमा बेन्फिकाले मकाबी हैफालाई ६–१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो। समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक रहेको छ। हेड टु हेडमा मा बेन्फिका शीर्ष स्थानमा रह्यो। यस बाहेक समान २ अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन्।