काठमाडौँ। स्वतन्त्र कानून व्यवसायीहरुले सुरुवात देखी गलत उद्देश्य राखेर नेपाल बारले न्यायालयलाई नै अस्तव्यस्त गराउन आन्दोलन हड्ताल गरेको भन्दै प्रतिकार गर्दै आएका छन्। जस अनुसार उनीहरुले आज (शुक्रबार) पनि बारको उक्त आन्दोलनविरुद्ध प्रदर्शन जारी राखेका छन्। नयाँ बानेश्वरस्थित् एभरेष्ट होटल अगाडि स्वतन्त्र कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनलाई बोल्दै अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्च अदालतमा गोला प्रथा लागु भएपछि पनि अदालतमा अवरुद्ध गरिनु गलत भएको विचार राखे। उनले हड्ताली न्यायाधीशहरुविरुद्ध कडा असन्तुष्टि पोखेका थिए। उनले बेन्च बस्न नभ्याउने भए के दिनभरि उठेरै बसे? आफ्नो बेन्चमा बस्न नि नसक्ने कस्तो श्रीमान्हरु ? भन्दै प्रश्न गरेका थिए ।
उनले अदालतमा अवरोध जारी राख्दा जनताले ठूलो मार भोग्नुपरेको पनि चिन्ता व्यक्त गरे। चुँडालले बन्दी प्रत्यक्षीकरणका मुद्दा २४ घण्टा हेर्नु पर्नेमा त्यसो नगर्दा ३०/३५ दिनसम्म पालो आउने कि नआउने भन्ने अन्योल रहेको र गैरकानुनी रुपमा नागरिकहरु थुनिएको र हिरासतमा रहेको अवस्था पनि सुनाए।
उनले बारले गलत नियत राखेर आन्दोलन गरेको भन्दै सर्वसाधारण जनताबाट पनि आलोचना हुन थालेको छ। यस्तो अवस्थामा अब आफूहरुले बारकै प्राङ्गणमा उभिएर चूनौति दिने अवस्थामा पुग्नेपनि चेतावनी दिए। चुँडालले आफुहरु स्वतन्त्र कानून व्यवसायी भएकोले स्वतन्त्र न्यायापालिकाको गरिमा जोगाउनको लागि जस्तासुकै संघर्षमा पनि उत्रिन तयार हुने चेतावनी दिए।
उनले सुरु देखिनै बारको नेतृत्वमा कमजोरी रहेको बताउदै आएको र उक्त कुरा पटक पटक पुष्टी भएको बताए। साथै अधिबक्ताहरूले बार भनेको वकिलहरू हकहितको निमित्त लड्नु पर्ने संस्था हुनु पर्नेमा अध्यक्षको मनोमानी गर्ने थलो भएको बताए।