बाजुरा - गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन्।
जिल्लाका नौ पालिकामध्ये नेकपा ९(एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिकामा विजयी हासिल गरेको छ। उसले बडीमालिका र बूढीनन्दा नगरपालिकासहित जगन्नाथ, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो।
नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित ६ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो। हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ। एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमाले विजय हुने भएको छ।