काठमाडौं । गाउँपालिकाको कार्यक्रमको निहुँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार गोरखास्थित नवविवाहित नातिनीको घर पुगेका छन् ।
त्यहाँ पुरेर नातिनी, नातिनी ज्वाईसहितको प्रधानमन्त्रीको तस्वीर यतिबेला भाइरल नै भएको छ । नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नातिनी प्रतिभा, ज्वाइँ विज्ञानबाबु रेग्मी र उनको परिवारले स्वागत गरे ।
पार्टीको कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टरमार्फत निर्वाचन क्षेत्र गोरखा पुगेका प्रचण्डले त्यहाँ रहेका आफन्तसँग भेटपछि खिचेको तस्बिरलाई लिएर सामाजिक सञ्चालनमा आलोचना भइरहेको छ ।
कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टर चढेर गोरखा पुगेका थिए । त्यहाँ उनी नातिनीको घरमात्र पुगेनन् दुईवटा सार्वजनिक कार्यक्रममासमेत सहभागी भएका थिए ।
उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको एक कार्यक्रममा उनी सहभागी भएका थिए । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी ११ः४५ बजे पुगेका थिए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकासमन्त्री सुशीला शिंखडालगायत पनि सहभागी थिए ।
प्रचण्डकी जेठी छोरी रेनुकी छोरी प्रतिभा र विज्ञानबाबुबीच २९ मंसिरमा विवाह भएको थियो ।
केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाएका थिए ।
छोरी तथा नातिनी, ज्वाईसँग हेलिकप्टरको पृष्ठभूमिमा रहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको ५ । भर्खरै वैवाहिक जिवनमा बाधिएकी प्रचण्ड नातीनी र जुवाईसँगै खिचिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीको आलोचना भएको हो ।
मंगलबार देशबासीको सम्बोधनका क्रममा प्रचण्डले आफू सुध्रिने, काममा केन्द्रीत हुने र आत्यावश्यक बाहेकका कार्यक्रममा समेत नजाने बताएका थिए । तर, प्रतिबद्धताको २४ घण्टा बित्न नपाउँदै सरकारी स्रोतको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
तर उनको सचिवालयले भने गोरखा पुगेका बेला उनी निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको जनाएको छ ।
प्रचण्डका निजी सचिव रमेश मल्लले यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशिस भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।