काठमाडौँ - पेरिस सेन्ट जर्मेन पछिल्लो समय विशेष गरेर नयाँ प्रशिक्षकका लागि निकै उतारचढावबाट गुज्रिरहेको छ। धेरै जनाले सो पद अस्वीकार गरेपछि अन्ततः क्रिस्टोफर ग्यालटियर क्लबको नयाँ प्रशिक्षक बन्ने सम्भावना बढेको छ।
हाल अर्को फ्रेन्च क्लब निसको प्रशिक्षक रहेका ग्लाटियरले युरोपको सबैभन्दा ठूलो खेलकुद परियोजनाको नेतृत्व सम्हाल्नका लागि क्लबसँग फेरि छलफल गर्ने स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ। उनले लिल र निसमा गरेको कामको आधारमा पीएसजीको नेतृत्व सम्हाल्न गइरहेका हुन्। ५५ वर्षीय प्रशिक्षकले लिललाई च्याम्पियनसीपसम्म पुर्याएका थिए।
ग्यालटियरलाई अनुबन्ध गर्न पीएसजीले निससँग सहमति गर्नुपर्नेछ र हालका प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई आधिकारिक रुपमा बर्खास्त गर्नुपर्ने हुन्छ। यसअघि पीएसजीले जिनेदिन जिदानदेखि मासिमिलानो एलेग्री, मार्सेलो गालार्डो र एन्टोनियो कोन्टेसम्मलाई प्रशिक्षक बन्न अफर गरेको भएपनि सबैले उक्त अफरलाई अस्वीकार गरेका थिए।