राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक उम्मेदवार विजयी

विराटनगर । प्रदेश नं १ मा राष्ट्रियसभा तीन सदस्य पदको बुधवार भएको निर्वाचनको मतपरिणाम साँझ सार्वजनिक गरिएको छ । उक्त निर्वाचनमा दुई स्थानमा गठबन्धन दलले विजयी भएको छ भने एक स्थानमा नेकपा (एमाले) विजयी हुन सफल भएको छ ।

राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपालकुमार बस्नेत (झापा) निर्वाचित हुनुभएको छ । उनका प्रतिद्वन्द्वी  नेकपा(एमाले)का गुरुप्रसाद बराल (मोरङ)ले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नेकांका बस्नेत विजयी भएका छन् ।

उनीहरू दुवैले चार हजार ४८८ मत प्राप्त गरेका थिए। अन्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्वरबहादुर विष्ट(झापा)ले १६८ मत ल्याएका थिए। अन्यतर्फ प्रदेशसभा सदस्यको एक मत र स्थानीय निकायतर्फ दुई मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
     
यसैगरी अपाङ्ग÷अल्पसङ्ख्यकबाट नेकपा (एमाले)का सोनाम ग्याल्जेन शेर्पा (सोलु) चार हजार ४७० मत ल्याइए विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धन दलबाट जनता समाजवादी पार्टी, नेपालका हेमराज राई थुलुङ (भोजपुर) चार हजार ३८६ मत ल्याएका थिए । उक्त मतदानमा स्थानीयतर्फको चार मत बदर भएको थियो ।
    
यस्तै महिला उम्मदेवारतर्फ नेकपा (एकीकृत समाजवादी)का जयन्तीदेवी राई(भोजपुर) चार हजार ६९२ मत ल्याइए विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुमित्रा सुवेदी भण्डारी(झापा)ले चार हजार ३६२ मत ल्याएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरे (झापा)ले १२० मत ल्याएकी छन्। महिलातर्फको मतदानमा स्थानीय निकायको तीन मत बदर भएको थियो ।
    
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (गठबन्धन दल)बाट तीन जना र एमालेबाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेदवार रहेका थिए ।
    

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×