काठमाडौँ - उत्तर कोरियाले आइतवार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रतर्फ दुई वटा ब्यालिस्टिक मिसाइल हानेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाको सेनाले यसबारेको जानकारी दिएको हो। जापानका उप विदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले हानेका यी दुवै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेका छन्।
जापानी रक्षा मन्त्रालयका अनुसार यी मिसाइलले ५५० किलोमिटर (३४२ माइल) को उचाइसम्म उडान भरे। यसका साथै २५० किलोमिटर (५३ माइल) को दूरी यी मिसाइलले पूरा गरेका छन्।
जापानी उप रक्षामन्त्रीले बताए अनुसार यी मिसाइलबाट अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन। उत्तर कोरियाले बिहीबार हाई थ्रस्ट सोलिड फ्युल इन्जिनको पनि परीक्षण गरेको थियो। जानकारका अनुसार यसबाट ब्यालिस्टिक मिसाइल चाँडो चाँडो परीक्षण गर्न सहयोग मिल्नेछ।
यस परीक्षणमा स्वयम् उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले निगरानी गरेका थिए। उत्तर कोरियाले यस साल कयौँ मिसाइल परीक्षण गरेको छ। जसमा एक अन्तरमहादेशी ब्यालिस्टिक मिसाइल पनि सामेल छ।
यस मिसाइलमा अमेरिकी भूमिसम्म पुग्ने क्षमता छ। उत्तर कोरिया अन्तरराष्ट्रिय प्रतिबन्धका बावजुद यी परीक्षण गरिरहेको छ।