काठमाडौं - रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ चौराहा बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरा बस्ने २६ वर्षीय हुसेन खानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका–६ बस्ने ३२ वर्षीय बंम बहादुर बिक र नवलपरासी देवचुली नगरपालिका–७ बस्ने ३० वर्षीय अर्जुन बिक रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१ –००१ ख ५८६८ नम्बरको गाडीलाई जाँच गर्ने बंम बहादुरको साथबाट नियन्त्रण लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल तथा अर्जुनको साथबाट डाईजामाप ६ एम्पुल, फेनारगन ६ एम्पुल र नुफिन ६ एम्पुलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।