काठमाडौँ - मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
समूह सी को खेलमा अर्जेन्टिनाले स्टेडियन ९७४ मा पोल्याण्डलाई २-० ले हराएको हो। लुसेल रंगशालामा मेक्सिको पनि २-० गोलले नै अगाडि थियो। त्यति बेलासम्म समान अंक र गोलअन्तर भए पनि फिफा फेयर प्लेको नियमका आधारमा पछाडि नै थियो। त्यसैले मेक्सिलोलाई थप १ गोलको आवश्यकता थियो।
तर, साउदीका लागि सलिम अल दावसारीले सोही समयमा १ गोल फर्काए र स्तब्ध मेक्सिको पक्षलाई घर पठाइदिए। यो नतिजाले पोल्याण्डलाई खुसी दियो।
बिभिन्न उतारचडावका बीच मेक्सिको पहिलो हाफमा केहि लयमा देखिएको थियो। दोस्रो हाफको २ मिनेटमा सेसार मोन्टेसको फ्लिकमा हेनरी मार्टिनले गोल गरेपछि मेक्सिको खेलमा हाबी हुन थालेको हो। पहिलो गोलमा खुसी मनाउन नभ्याउँदै मेक्सिकन समर्थकले अर्को गोल पाएका थिए। ५२औं मिनेटमा लुइस चाभेजले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक शानदार गोलमा परिणत भएको थियो।
मेक्सिको फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको सन् १९७८ को विश्वकपयता पहिलोपल्ट हो।