एजेन्सी। जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो। सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ।
“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा बृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाई गर्ने निर्णय गरेको हो,” सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भने। सरकारले सवैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा बन्चित र निषेध गरिने उनले बताए।
उनले खोप लगाउनका लागि विभिन्न वसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिए। खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उनले आग्रह गरे। उनले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनु पर्ने र त्यही अनुसारको सतर्कता अपनाउनु पर्नेमा जोड दिए।
सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित भएका छन्। ती मध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन्। देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन्।