नेपालका चराका विषयमा झण्डै साढे दुई दशकदेखि अनुसन्धान गर्दै

काठमाडौँ - नेपालका चराका विषयमा झण्डै साढे दुई दशक अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले विसं २०२६ मा तयार गरेका ‘बर्डस् अफ नेपाल’ पुस्तकमा नेपालमा पाइने चराबारे उल्लेख गरिएको छ।

उनीहरूसँग हेम पौडेल र हिरालाल डङ्गोलले प्रत्यक्ष सहभागी भएर काम गरेका थिए। तत्कालीन समयमा नै उक्त पुस्तक जापान, साउदी अरब, क्यानडा, बेलायत, फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया  जस्ता राष्ट्रका अन्तरराष्ट्रिय पुस्तकालयमा पुगेको थियो। तत्कालीन नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानले २०३९ सालमा ‘नेपालका चराहरू’ कृति प्रकाशन गरेको थियो। पछिल्ला समयमा चराका अध्येताले विभिन्न खोज तथा अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने गरेका छन्।

‘प्रकृतिको कुचिकार’ गिद्धलाई समेट्दै दुई वर्षअघि चराको अध्ययन–अनुसन्धानमा लागेका तीन युवाको संयुक्त प्रयासमा ‘नेपालका गिद्धहरू’ नाम सचित्र पुस्तक बजारमा ल्याइएको थियो। पोखरा पक्षी समाजका अध्यक्ष घिमिरे, सचिव हेमन्त ढकाल र सदस्य कृष्णप्रसाद भुसालका संयुक्त प्रयासमा ६८ पृष्ठको पुस्तक प्रकाशन गरिएको हो। संरक्षणका अभावमा गिद्ध लोपोन्मुख बन्दै गएको वास्तविकतामा संरक्षण गर्दै पर्यावरणीय संरक्षणसमेतलाई टेवा पुर्याउने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याइएको हो।

नेपालमा गरिएको विभिन्न अध्ययनानुसार दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको छ। गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको अनुसन्धानले देखाएको छ। पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जनाइएको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्रीवितरणमा प्रतिबन्ध लगाई विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइने गरेको छ। नेपालमा पाइने सबै प्रजाति पोखरामा पनि पाइन्छ। नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदमा आउने गर्छन्। हिउँदमा आउने लामो ठुँडे भारत तथा खैरो गिद्ध मङ्गोलियाबाट आउँछन्। त्यस्तै, राज गिद्ध पाकिस्तान एवम् किर्गिजस्तानबाट आउने गरेका छन्। सङ्ख्यात्मक रूपमा नेपालमा पाइने हिमाली गिद्ध १० हजार तथा डङ्गोर र सेता गिद्ध दुई हजार छन्। त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँचपाँच सय पाइन्छ। नेपालमा पाइने सानो खैरो गिद्ध भने ५० देखि ७५ को हाराहारीमा छ। बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन्।

नेपालमै मात्रै पाइने ‘काँडेभ्याकुर’ पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिन्छ।  पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छन्। धेरै मांसाहारी चरा पाइने भएकाले पोखरालाई मासांहारी चराको राजधानीका रूपमा समेत लिने गरिएको छ। पोखरा पानी चराका लागि उपयुक्त मौसम र भूगोल रहेको बताउने अनुसन्धानकर्ता पछिल्ला समय मानवीय गतिविधि तथा सिमसार एवं पानी रहेका क्षेत्र हराउँदै गएपछि चरा समस्यामा परेको बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×