काठमाडौं - नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ। मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो। १५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
दश खेल खेलेको कोलकाताको यो चौथो जित हो। आठ अंक जोडेको कोलकाता सातौं स्थानमा छ। पराजित राजस्थानले १२ अंकका साथ तेस्रो स्थानमा छ।
कोलकाताका टिम साउथीले दुई विकेट लिँदा उमेश यादव, अनुकुल रोय र शिबम माभीले एक एक विकेट लिए। १५३ रनको लक्ष्य पूरा गर्ने क्रममा कोलकाताका श्रेयस ऐयरले ३४ र बाबा इन्द्रजितले १५ रन बनाउँदा निनिश रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रन बनाए। रिन्कु र रानाले चौथो विकेटका लागि ६६ रनको अविजित साझेदारी गरेका थिए।