आयोजनामा स्थानीय जनतालाई प्राथमिकता दिन माग

काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा स्थानीय जनतालाई प्राथमिकता दिन माग गरिएको छ।

आयोजना निरीक्षणका लागि आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आज भएको भेटमा आयोजनाबाट असर पर्ने क्षेत्रका व्यक्तिले आफूहरूलाई पनि प्राथमिकता राख्न माग गरेका हुन्। आयोजनाबाट असर पर्ने क्षेत्र ऋषिङको बासिन्दासमेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले रोजगारीमा स्थानीयवासीलाई विशेष प्राथमिकता दिनुपर्नेमा मन्त्री भुसालको ध्यानाकर्षण गराए। “आयोजना छिटो सम्पन्न गर्न स्थानीयवासीकातर्फबाट सदैव सहयोग रहनेछ, आयोजनामा स्थानीयवासीको पनि सहभागिता हुनुपर्छ”, उनले भने।

आयोजनाबाट ऋषिङ गाउँपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष असर पर्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा पनि आयोजनाबाट पीडित क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयवासीको माग थियो। तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठले स्थानीयवासीको सहयोगबिना आयोजना सफल नहुने भएकाले स्थानीयवासीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजनाले समृद्धिको आधार तयार गर्ने भएकाले स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनामा स्थानीयवासीलाई प्राथमिकता दिने सवालमा सरकार र आयोजना प्रतिबद्ध रहेको बताए।

“आयोजना सफल बनाउने ठूलो जिम्मेवारी स्थानीयवासीको पनि हो, स्थानीयवासीलाई आयोजना सँगसँगै राखेर अगाडि बढाउन प्रतिबद्ध छौँ”, उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×