काठमाडौँ - जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ। बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा बिनाविकेटकाे क्षतिमा पूरा गर्यो।
उसका लागि शुभमन गिल र शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेका थिए। ७२ बलको सामना गरको गिलले १० चौका र १ छक्कासहित अविजित ८२ रन बनाएका थिए। धवनले ११३ बलमा ९ चौकासहित नटआउट ८१ रन बनाएका थिए।
त्यसअघि हरारे स्पोर्ट्स क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको जिम्बाब्वेले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो।
जिम्बाब्वेले निकै खराब सुरुवात गरेको थियो। तर, नवौं विकेटका लागि रिचर्ड नगारवा र ब्राड इभन्सले ६५ बलमा ७० रनको साझेदारी गरेका थिए। उसका लागि कप्तान रेजिस चकब्वाले ३५, रिचर्ड नगारवाले ३४, ब्राड इभन्सले अविजित ३३, ल्यूक जोंग्वेले १३ र रयान बर्लीले ११ रनको योगदान दिएका थिए।
भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा, अक्षर पटेलले ३/३ र मोहम्मद सिराजले १ विकेट लिएका थिए। यो जितसँगै ३ खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ। भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ।