काठमाडौँ । कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो।
त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गरेका थिए। भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु. ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गरेका छन्।
मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रुपमा आजको कार्यक्रमको आयोजना गरिएको हो। आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ।
दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको छ।