काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालाको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा बागमती प्रदेशलाई ३-१ को सेटमा हराउँदै गण्डकी प्रदेश समूह ‘डी’ को विजेता बनेर क्वार्टरफाइनलमा पुगेको हो। यता, बागमती प्रदेश पनि क्वार्टरफाइनलमा पुगेको छ।
गण्डकीले बागमतीलाई २५-२०, १५-२५,२५-१८ र २५-१३ को सेटमा हराएको हो। अब गण्डकीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने छ। त्यस्तै बागमतीले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि पुरुष भलिबलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। पुलिसले कर्णालीलाई २५-१६, २५-११ र २५-१२ को सोझो सेटमा हराएको हो।