बाजुरा - बाजुरा जिल्लाकै ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँगारिएर बसेका छन्।
विशाल वन क्षेत्र र हिउँका फाँटहरूले सजिएको कालाजाग्रा र पोरखेगढी क्षेत्र बडीमालिका र बूढीनन्दा नगरपालिकाको सीमा क्षेत्रसँगै जोडिएका छन्। पोरखे लेक जडिबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिकस्थलले पनि समृद्ध छ।
गुफाभित्र अनौठा तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजाग्रा देवीको बासस्थानसमेत पोरखे क्षेत्रमै पर्छ। सुदूरपश्चिम क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बडिमालिकासँग जोडिएको पोरखे र कालाजग्रा क्षेत्र जति रमणीय र सुन्दर छन्, त्यसभन्दा बढी स्रोतसाधन र सम्भावनाले समृद्ध र बलिया छन्।
चारैतिर फैलिएको घनघोर जङ्गलका बीचमा रहेको ठूलो चट्टानको गुफाभित्रको ताल यसको अर्को आकर्षण हो। धार्मिक आस्था र पशुपालनका लागि कालाजग्रा पुग्ने जतिको पहिलो रोजाइ गुफाताल नै हुने गरेको छ। हिउँदका चार महिना हिउँको घुम्टो ओढ्ने पोरखे क्षेत्र मार्तडीबाट अढाइ घण्टा र कोल्टी विमानस्थलबाट त्यत्तिकै समयमा कच्चीबाटामा जीपको यात्रापछि पुग्ने गरिन्छ।
यतिबेला हिउँको तन्नामा सजिएका विशाल फाँटहरूको पोरखे अहिले जोकोहीलाई स्वागतका लागि पर्खेको छ। रमाइलोका लागि पैदल हिँडेर धार्मिक तथा ऐतिहासिक महत्वको पोरखे पुग्नेहरूको कमी छैन। हिउँले सजिएर मुस्कुराइरहेको पोरखे हेर्न र घुम्नको आनन्द बेग्लै हुन्छ।
सेताम्य हिउँको पाटन र कालाजाग्रा गुफा तालसहितको पोरखे गढीको प्रवर्द्धनमा सुरुमा पदयात्रासहितको आन्तरिक पर्यटनले सकारात्मक सन्देश जाने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकाया बताउँछन्। कालाजाग्राको गुफा ताल नीलो आकाश जस्तै अनौठो र अच्चमलाग्दो देखिन्छ। यसको लम्बाइ, चौडाइ र गहिराइबारे कुनै खोज, अनुसन्धान नगरिएको तर निकै आकर्षक देखिएको बडीमालिका– ७ का वडाध्यक्ष धर्मराज पाध्याय बताउँछन्।
एक सयभन्दा बढी जातका जडिबुटी तथा विभिन्न रङ्गचङ्गी फूलहरूको रमणीयस्थल पोरखे क्षेत्रको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहको चासो छैन। बडीमालिका र बूढीनन्दा नगरपालिकाकै विवाद छ।
सो क्षेत्र दुवै पालिकाले आआफ्नो भएको दाबी गर्न छाडेका छैनन्। पहाडमाथिको मन्दिरबाट अछाम, कालीकोटका हिउँले सेताम्य पहाड, बझाङ्गको सैपाल हिमाल, मुगुको राराताल, बडीमालिका, बूढीनन्दालगायत ठाउँका मनमोहक रमणीय दृश्यावलोकन गर्न सकिन्छ।
पोरखेगढी दरबार
ऐतिहासिक महत्वको पोरखेगढी (सैन्य तालिम दिने र मित्र राज्यको भेटघाटस्थल) दरबार पोरखे क्षेत्रको अर्को आकर्षण हो। कोल्टी क्षेत्रका चार स्थानीय तहबाट सदरमुकाम मार्तडी आवतजावतको प्रमुख पैदल तथा सडक मार्गमा पर्ने क्षेत्रमा पर्ने पोरखेगढी दरबार अहिले भग्नावस्थामा छ।
वरिपरि करिब सात किलोमिटर घना वन क्षेत्र र चारैतिर उच्च हिमालका बीच समथर स्थानमा रहेको दरबारको संरक्षण र प्रवर्द्धनमा ध्यान नदिँदा अवशेषका रूपमा मात्र देखिएको छ। तत्कालीन चौबिसे राज्यअन्तर्गत जुम्ला राज्यमा पर्ने दरबार पारखीको आँखा बाहिर परेको छ।
बलियो जुम्लाका राजाको बलिया राज्यसँग सम्बन्ध विस्तार गर्ने र कमजोरलाई आफ्नो कब्जामा लिने रणनीति थियो। त्यही मनसायले जुगाडी राजासँग सम्बन्ध विस्तार गर्न मार्तडीबाट तीन घण्टाको पैदल दूरीमा पर्ने प्राकृतिक सुन्दरताको बीच दरबार निर्माण गरिएको हो। तत्कालीन जुगाडी राजाको सम्बन्ध त्यस बेला बझाङ्गी राजासँग थियो। दुवै शक्तिमा थिए।
कालीकोट, बार्जु, अछाम र मुगाली राज्यलाई कब्जामा लिने रणनीतिअनुरुप सो स्थानमा दरबार निर्माण गरिएको स्थानीय जानकार तुलाराम जैसी बताउँछन्। हाल ढुङ्गा र जगको अवशेष पाइने सो दरबारमा सैन्य तालिम दिने गरिन्थ्यो भने जुम्ला र जुगाडाबाट राजाहरू आएर भेटघाट गर्थे। हिउँदका चार महिना हिउँले ढाकिने अवधिभर दरबारभित्र सैन्य तालिम दिने, सैन्य सामान ढुवानी गर्ने र अन्य समय लडाइँका लागि तयारी गर्ने गरिएको जुगाडी राजाका सन्तान बताउँछन्।
उच्च स्थानमा पर्ने पोरखेमा बार्जुकोट, कालीकोट, मुगाली कोट र बझाङ्गी राजाको आवतजावत हुने भएकाले दरबार निर्माण गरिएको इतिहासका जानकार नेकपा (एमाले) बाजुराका उपसचिव जनककुमार बोहराले बताए। स्थानीय राजनीतिक अगुवा पूर्णबहादुर रावत भने दरबार एकै दिन निर्माण गर्न नसकिएकाले अधुरै रहेको बताउँछन्।
पोरखेगढीको ऐतिहासिक, सांस्कृतिक महत्वबारे अध्ययन नभएको र तत्कालीन राजाका सन्तान पनि यसबारे जानकार नभएको बताइन्छ। हाल राष्ट्रिय वन क्षेत्रमा पर्ने पोरखे वन क्षेत्रमा चणिदह, बार्या ताल, पोरखे ताल, कालाजग्रा गुफा ताल गरी छ सानाठूला सुन्दर ताल छन्।
घनाजङ्गलभित्र, लोपोन्मुख पशुपक्षीको बासस्थान छ। जिल्लामा अध्ययन, अनुसन्धान नहुँदा दर्जनौँ कोट ओझेलमा छन्।
पर्यटकीय गन्तव्य बनाउन पहल
पोरखे क्षेत्रका पर्यटकीय तथा धार्मिक गन्तव्यलाई वडाले संरक्षणका लागि पहल गरेको छ। बडीमालिका–७ का वडाध्यक्ष पाध्यायका अनुसार वन क्षेत्र संरक्षणदेखि संरचना निर्माण भइरहेको छ। कालाजाग्रा माताको मन्दिर तथा आवतजावतका लागि अप्ठ्यारा अवस्थामा रहेको बाटालाई मर्मत गरिनाका साथै सिँढी निर्माण गरिएको छ।
गुफातालदेखि मन्दिरसम्म जाने बाटामा सिँढी निर्माण गर्ने योजना निर्माण गरिएको छ। ढम्कनेमा मनोरञ्जनोद्यानसमेत निर्माण सुरु गरिएको छ। स्थानीयवासीले कालाजाग्रा क्षेत्रको संरक्षण तथा पर्यटकीय गतिविधि सञ्चालन गरेका छन्। स्थानीयस्तरबाट आलु महोत्सवदेखि साहित्यिक यात्रा र पैदल यात्रा जस्ता कार्यक्रम पनि गरिएको छ।
कालाजाग्रा र पोरखे क्षेत्रको प्रवर्द्धनका लागि पोष्टर, पम्पलेट र पात्रो बनाउने तथा बिक्री गर्ने काम गरिएको छ। हुनुपर्ने जति प्रचारप्रसार र सहज आवतजावतका लागि मार्ग नहुँदा गन्तव्य ओझेलमा परेको वडा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता धनलाल पाध्यायले बताए।
पदमार्ग निर्माण गर्न सके खप्तड हुँदै मुगुको रारा र बडिमालिका, बूढीनन्दा पुग्ने सबै पर्यटक कालाजाग्रा जाने सम्भावना छ। खप्तड, रारा पैदलमार्गका बीच बाटामा पर्ने पोरेख क्षेत्र पर्यटकका लागि गन्तव्य बन्ने सम्भावना छ।
बास बस्नका लागि ठूला चौर र जङ्गल क्षेत्र भएको र हिउँदमा हिउँसँग रमाउन पाइने भएकाले थप सजिलो हुने विश्वास स्थानीयवासीको छ। नगर क्षेत्रबाट पनि पहल भइरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवालले बताए।
उनका अनुसार पोरखे र कालाजग्रा जस्तै नगरपालिका क्षेत्रभित्र रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान नगरपालिकाले गर्दै आएको छ। यहाँका पोरखे, कालाजाग्रा, दहडाँडा, डडुल्लेलगायत पर्यटकीय क्षेत्रको पहिचान गरी प्रवर्द्धन गर्न नगरपालिका कार्ययोजना बनाएर अघि बढेको नगर उपप्रमुख कविता विष्टले बताए।
हिउँकै आँगनमा गजल वाचन
तीन वर्ष पहिले प्रणय दिवसका अवसरमा पोरखेगढीमा गजल वाचन कार्यक्रम आयोजना गरिएको थियो। हिउँका आँगनमा प्रकृतिसँग जोरी खोज्दै गजल वाचन गरिएको सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताए।
प्रतिष्ठानले जिल्लामा साहित्यिक गतिविधि बढाई कला, साहित्यको संरक्षण र प्रवर्द्धन गर्न प्रत्येक वर्ष प्रणय दिवसको दिन कार्यक्रम आयोजना गर्ने गरेको छ।