राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पुस्तक प्रदर्शनी गरिने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी सुरु गरेको छ।

प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० प्रकारका पुस्तक एवं पत्रपत्रिका राखिएको छ। प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिनेछ। नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको छ। 

प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ। पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ। प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ। ललितकला प्रज्ञाप्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ। 

पुस्तक प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले  नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताए। पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उनले जानकारी दिए। प्रतिष्ठानका प्रकाशन बिक्रीका लागि प्रदर्शनी सहायक सिद्ध हुने आशा गरिएको छ। प्रतिष्ठानले सधैँका लागि प्रदर्शनी कक्ष राख्ने तयारी गरेको जानकारी गराएको छ। प्रतिष्ठानले कस्ता प्रकाशन पाठकसामु ल्याएको छ भन्ने जानकारी दिन पनि प्रदर्शनी उपयोगी हुने विश्वास गरिएको छ।  

यसअघि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २५ गतेदेखि आयोजना गरिएको प्रदर्शनी कोरोना भाइरसको तेस्रो लहर बढ्न थालेपछि माघ पहिलो साता नै स्थगित गरिएको थियो। प्रदर्शनीमा प्रतिष्ठानका १० वटामा नयाँ प्रकाशन पनि राखिएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए। नयाँ थप गरिएका प्रकाशनमा ‘नेपाली लोक विश्वास’, ‘नेपाली निघण्ट’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘काठमाडौँ उपत्यकाका केही जात्रा’ लगायत छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×