काठमाडौँ - विश्व चेसका महान खेलाडी मानिने म्याग्नस कार्ल्सेनले भर्खरै आफूलाई पराजित गरेका एक खेलाडीले चिटिङ गरेको आरोप लगाएका छन्। तर, ती खेलाडीले कसरी उनलाई ‘चिटिङ’ गरेका थिए भन्ने खुलाएका छैनन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै म्याग्नसले हान्स नायम्यानमाथि त्यस्तो आरोप लगाएका हुन्। गत महिना सिंकफिल्ड कपमा १९ वर्षीय हान्सले कार्ल्सेनलाई हराएका थिए। उक्त हारले कार्ल्सेनको ५३ खेलको अपराजित यात्रा टुंगिएको थियो।
कार्ल्सेनले यसअघि पनि यस्तो आरोप लगाउँदै आएका थिए। तर, नायम्यानले आरोपको खण्डन गर्दै आएका छन्। आफ्नो करियरमाथि दाग लगाउने षड्यन्त्रका रुपमा कार्ल्सेनले त्यसो भनिरहेको दाबी नायम्यानको छ।
गत महिना नायम्यानसँग हार व्यहोरेपछि कार्ल्सेनले ६ चरणको खेल बाँकी रहँदा प्रतियोगिता छाडेका थिए। गत साता भएको अनलाइन प्रतियोगितामा नायम्यानसँग पहिलो चाल चलेपछि कार्ल्सेनले छाडेका थिए। चेसमा हुने चिटिङलाई गम्भीर रुपमा लिइनुपर्ने कार्ल्सेनको माग छ।
‘म निराश छु। म राम्रा प्रतियोगितामा माथिल्लोस्तरको चेस खेल्न चाहन्छु। मलाई लाग्छ नायम्यानले पछिल्लो समय मसँग धेरैभन्दा धेरै चिटिङ गरेका छन्’, विज्ञप्तिमा भनिएको छ।