अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने

काठमाडौँ - काठमाडौँमा हिजोदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ। ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ पाँचदिने महोत्सव सुरु भएको हो। 

महोत्सवको उद्घाटनका दिन आज नुवाकोटको तारुकामा परम्परागतरूपमा मनाइने गोरु जुधाइ पर्वका विषयमा पुरु लम्सालले निर्देशन गरेको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो। पाँच दिनसम्म चल्ने महोत्सव यसपटक पाँचौँ संस्करण हो। छनोट भएका चलचित्र राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिनेछ। महोत्वसमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुनेछन्। 

चौथो संस्करण कोरोनाका कारण भर्चुअलरूपमा गरिएकामा यसपटक भने भौतिक उपस्थितिमै गर्न पाइएको भन्दै महोत्सव संयोजक यादव भट्टराईले खुसी व्यक्त गरे। उनले यस कार्यक्रमले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने र विदेशी चलचित्रबाट नेपाली कलाकारले त्राण हासिल गर्ने बताए। 

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रबीच सात विधामा प्रतिस्पर्धासमेत हुने जनाइएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रूपमा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिका रहेका छन्। 

महोत्सव उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमले चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टेजमा जति नै बोले पनि नेपाली चलचित्र कमजोर रहेको स्वीकार गर्दै नीतिगतरूपमा केही समस्या रहेको औँल्याए।

उनले कलाकारलाई चलचित्रमा उत्कृष्ट कथा खोज्न आग्रह गर्दै त्यसका लागि बोर्डले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×